प्रमाणपत्र धितोमा ऋण दिने नीति उत्साहजनक छ

मंगेशलाल श्रेष्ठ :अध्यक्ष, नेपाल युवा उद्यमी मञ्च
नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष मंगेशलाल श्रेष्ठ पारिवारिक बिँडो थाम्दै व्यवसायमा प्रवेश गरेका हुन् । विद्यालय जाने उमेरमा लामो बिदा हुँदादेखि नै आफ्ना पिताको प्रेरणाले व्यवसायमा प्रवेश गरेका उनले विभिन्न व्यावसायिक गृहमा ‘इन्टर्न’का रूपमासमेत अनुभव सँगालेका थिए । विदेशमा अध्ययनपछि नेपाल फर्केर धेरै प्रोजेक्ट सुरु गरे पनि असफल भएको निर्धक्क बताउने उनी सानै उमेरदेखि परिवारले स्वतन्त्रता दिएका कारण व्यवसायमा उद्यमशीलता विकास गर्न र आत्मबल बढाउन सजिलो पुगेको बताउँछन् । हाल कास ट्रेडिङलगायतका सूचना प्रविधिका क्षेत्रसँग आबद्ध रहेका श्रेष्ठ माछापुच्छ्रे बैंक सञ्चालकसमेत हुन् । यसै वर्ष युवा उद्यमीको नेतृत्व सम्हालेका श्रेष्ठ विधान संशोधन गर्दै परिपक्व नेतृत्व विकासका लागि युवा उद्यमी मञ्च ‘बेञ्चमार्क’ हुने बताउँछन् । उनीसँग नेपालमा युवा उद्यमशीलता विकासका क्षेत्रमा भइरहेका प्रयास र गर्नुपर्ने अरु कामका विषयमा कारोबारकर्मी विपेन्द्र कार्की र सरस्वती ढकालले गरेको कुराकानी :

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शैक्षिक प्रमाणपत्र धितोमा राखेर बैंकबाट ऋण दिने घोषणा गरेको छ, यसलाई नेपाल युवा उद्यमी मञ्चले कसरी हेरेको छ ?

नेपालमा युवा उद्यमशीलताका लागि सबैभन्दा जटिलता भनेकै ‘एक्सेस टू फाइनान्स’ नै हो । राम्रो व्यावसायिक योजना भएर पनि धितो राख्ने सम्पत्ति नभएर युवाहरूको उद्यमशीलता उजागर हुन सकेको छैन । यसलाई कसरी अन्त्य गर्ने भनेर विगतदेखि नै छलफल हुँदै आएको अवस्थामा सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर बैंकबाट ऋण दिने नीति ल्याएको छ, यो सकारात्मक पक्ष हो । हामीले यसलाई सरकारले युवा उद्यमशीलतालाई प्रारम्भिक चरणमै भए पनि सम्बोधन गरेको महसुस गरेका छौं । अर्थात् यसलाई सकारात्मक रूपमा लिएका छौं । तर, यसलाई नीति तथा कार्यक्रममा घोषणा गरेर मात्र हुन्न र धेरै गहिराइसम्म पुग्न जरुरी छ । हामीले यो बुझेका छौं कि सरकार पनि उद्यमशीलता विकासका लागि ‘फोकल प्वाइन्ट’ हो । नेपालमा बेरोजगारी बढेसँगै दैनिक १७ सयसम्म युवा विदेशिएको तथ्यांक छ । ‘जब सिकर’ र ‘जब क्रिएटर’ (रोजगारी खोज्ने र सिर्जना गर्ने) दुवैका लागि यो अत्यन्त राम्रो पक्ष मान्न सकिन्छ । तर यसमा ‘मोटिभेसन’ धेरै नै आवश्यक छ । यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं ।

नेपाल राष्ट्र बैंकले सामान्यतया बिना धितो ऋण नदिने नीति अवलम्बन गर्दै आएको छ । तर, सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राख्ने नीतिगत व्यवस्था त गर्यो । यो कसरी कार्यान्वयनमा जान सक्छ ?

यो आफैंमा महत्वपूर्ण विषय हो । म फेरि पनि दोहोर्याउँछु कि अहिलेका युवालाई ‘एक्सेस टू फाइनान्स’ नै उद्यमशीलताको सबैभन्दा ठूलो अवरोध हो । त्यसैले धितोमा सर्टिफिकेट राख्न पाउनु आफैंमा महत्वपूर्ण छ । सरकारले नीतिमा सर्टिफिकेट राखेर ऋण दिने व्यवस्था गरेको छ भने राष्ट्र बैंकले अनिवार्य धितोको नीति लिएको छ । सरकार र राष्ट्र बैंकको नीतिगत व्यवस्थामै द्वन्द्व छ । यस्तो ‘ग्यापिङ’ नेपालमा मात्र नभएर विदेशमा पनि हुनेगर्छ । सबै निकायले गर्न खोजेको सुरक्षित कारोबार नै हो । अरु क्षेत्रमा पनि यस्तो समस्या देखिएको छ र ति सबै निकायबीच समन्वय गर्न नै सरकार चाहिएको हो ।

अब, युवा स्वरोजगार कोषको कुरा गरौं । त्यसमा हामीले सरकारसँग बसेर कुरा गर्न चाहेका छौं । स्वरोजगारको उद्देश्य पनि उद्यमशीलता नै हो । पाँच वर्षअघिको तुलनामा अहिलेको भिजनमा सन्तुष्टी भन्दा पनि खुसी मान्नुपर्छ । युवा उद्यमी, सफल उद्यमी, नेतृत्वकर्ता र निजी क्षेत्रलगायतका सरोकारवालालाई समावेश गराउनुपर्छ ।

नेपाल युवा उद्यमी मञ्चको अध्यक्षका आँखाले हेर्दा नेपालमा उद्यमशीलता विकास हुन नसक्नुको कारण के हो ?

उद्यमशीलता विकास हुन नसक्नु शिक्षा मात्र कारण होइन । यसमा आधारभूत पूर्वाधार नहुनु नै मुख्य कुरा हो । व्यापार नीति, कर नीतिदेखि लिएर हाम्रो सामाजिक संरचनासम्म यसमा अवरोधक छन् । हामी ट्रेडिङमा आधारित देश भए पनि ठूलो व्यापार घाटामा छौं । व्यापार घाटाबाट सन्तुलनमा कसरी जाने भन्नेमा हामीले नतिजा देखिने गरी केही गर्न सकेका छैनौं । उद्यमशीलता विकास गर्न शिक्षा क्षमता विकास गर्ने खालको हुनुपर्छ भने पूर्वाधार विकासमा उत्तिकै जोड दिनुपर्छ । उद्यमशीलतामा सिर्जनशीलतालाई पनि प्राथमिकता दिनुपर्छ ।

विदेशमा गएर फर्केर आउने जनशक्तिसँग सीप र पैसा दुवै हुन्छ, अब तिनीहरूलाई लक्षित गरेर कार्यक्रम ल्याउनुपर्ने होइन र ?

अवश्य पनि । बाहिर गएर फर्किएका व्यक्तिसँग थोरै भए पनि पैसा हुन्छ र केही सीप सिकेर आएका हुन्छन् । तिनीहरूलाई यहाँसम्म ल्याउन पनि ‘मोटिभेसन’ मुख्य कुरा हो । बाहिर गएर आएको मान्छेलाई नेपालमा काम गराउने हो भने हामी छुट्टै तरिकाबाट जानुपर्छ । यसमा सरकारले योजना मात्र बनाएर हुँदैन कार्यान्यवनको पाटोलाई ध्यान दिनुपर्छ । मलेसियामा अहिले के छ भने बाहिरबाट फर्केर आएपछि ‘मलेसिया रिटर्न’ कार्यक्रम छ । मलेसिया फर्केर आफ्नो देशमा केही गर्न खोज्नेलाई विशेष सुविधा छ । हामीले पनि विदेशमा काम गरेर आउनेलाई के सुविधा दिँदा यहाँ उद्यमशीलता विकास गर्न सकिन्छ भन्नेमा ध्यान दिनु जरुरी छ । नेपालमा उद्यमशीलता गर्न चाहनेलाई थोरै मात्र मोटिभेसनले पनि सहयोग गर्न सक्छ ।

काम गर्न सक्ने युवा दिनदिनै ठूलो संख्यामा विदेशिएका हुन्छन्, तपाईंलाई आफ्नै उमेरका युवा त्यसरी कामको खोजिमा बाहिरिंदा कस्तो महसुस हुन्छ ?

पढेका र काम गर्न सक्ने युवा बाहिर जानु देश र स्वयं व्यक्तिका लागि पनि राम्रो होइन । तर, हाम्रो बाध्यता हो । आफ्नो देश बनाउनुपर्ने समयमा विदेशलाई बनाउनु आफैंमा दुःख लाग्ने कुरा हो । यसमा सरकारले ‘मोटिभेसन’ गर्न सक्ने गरी कार्यक्रम ल्याउन सक्नुपर्छ । किन यति ठूलो संख्यामा विदेश जाने युवा बढेका छन् भन्ने सम्बन्धमा हाम्रो च्याप्टरमा पटकपटक छलफल भएको छ । यसका लागि दीर्घकालीन रणनीति बनाएर काम गर्नु जरुरी छ । जसमा विशिष्टीकृत आर्थिक विकासका कार्यक्रम ल्याउनु पनि उत्तिकै आवश्यक छ । नेपालमा पर्यटन र कृषिलाई जोड दिन सकिन्छ । कृषिकै कुरा गर्दा नेपालमा मात्र पाउने विदेशमा नपाउने धेरै वस्तु छन् । त्यस्तै पर्यटन नेपालका लागि सबैभन्दा बलियो क्षेत्र हो । यस्ता थुप्रै क्षेत्र छन् जसमार्फत युवालाई यहीं रोक्न सकिन्छ र मुलुक निर्माणमा साझेदार बनाउन सकिन्छ ।

युवाको क्षमता बिस्तार र सीप विकासका लागि मञ्चले हाल के कस्तो काम गरिरहेको छ ?

हामीले प्रत्यक्ष रूपमा सरकारसँग मिलेर ‘स्किल डेभलपमेन्ट’मा काम गर्न सकेका छैनौं । खासगरी कलेजमा गएर उद्यमशीलता विकासका लागि ‘मोटिभेट’ गर्ने गरेका छौं । आजका दिनमा नेपालले आफूलाई केमा चिनाउने भन्ने भिजन लिन सकेको छैन । हामीले ‘बुट क्याम्प’ पनि गरेका छौं । ‘इनोभेसन’देखि ‘एडक्याप’को काम गरेका छौं । लगानीकर्ता सामु ल्याएर ‘मोटिभेट’ गर्ने पनि काम गरेका छौं । सरकारसँग कसरी छलफलमा जाने भन्नेमा तयारी भइरहेको छ । सरकारसँग मिलेर छिट्टै केही काम गर्नेछौं ।

तपाईंहरूको निकै महत्वपूर्ण मानिएको कार्यक्रम ‘बुट क्याम्प’को नतिजा कस्तो रह्यो ?

हामी ‘बुट क्याम्प’बाट एकदमै उत्साहित भएका छौं । यो नमुनाका रूपमा सञ्चालन गरेका थियौं र यसको सफलताबाट भोलिका दिनमा पनि यसलाई क्यालेन्डरका रूपमा अघि बढाउनुपर्छ भन्नेमा पुगेका छौं । यसअघिको ‘बुट क्याम्प’मा अन्तिम छनोटमा परेका ५ जना मध्ये ३ जनाले फन्डिङ पाएका छन् । अरु दुई जनाका लागि छलफल चलिरहेको छ ।

युवालाई उद्यमशील बनाउने जिम्मेवारी तपाईंहरूको पनि हो तर सरकार र सम्बद्ध निकायसँगको कस्तो सहकार्य भइरहेको छ ?

युवालाई उद्यमशील बनाउने काम हाम्रो मात्र होइन । हामीले त जिम्मेवारी लिएका हौं । त्यसैले सम्बद्ध निकायसँग ‘कन्सल्टिङ’ गरेर काम गरेका छौं । हामीले २५ वर्षदेखिका युवालाई हेर्छाैं तर, सरकारको हेराइ फरक छ । ६० वर्षसम्मलाई पनि युवा नै मानिएको अवस्था छ । यसमा स्पष्ट हुनु जरुरी छ । सैद्धान्तिकरूपमा सरकारका कार्यक्रम राम्रा छन् तर कार्यान्वयनमा जान आवश्यक छ । नीति बनेर मात्र भएन कार्यान्वयमा जानुपर्छ । यसवर्षदेखि हामीले एकदमै फोकस कार्यक्रममा जोड दिएका छौं । युवा उद्यमशीलताका सम्बन्धमा एउटा भिजन स्पष्ट भएर जानु जरुरी छ । हामीले पनि संस्थामा हालै नयाँ विधान पास गरेका छौँ । जसमा एउटा ४० वर्षसम्मका लागि युवा मानिन्छ । हामीकहाँ अध्यक्ष दोहोरिएर आउने व्यवस्था छैन ।

युवा उद्यमी मञ्चले उद्यमशीलताका लागि पछिल्लो पाँच वर्षमा गरेका उपलब्धि के हुन् ?

हामीले पछिल्लो पाँच वर्षमा ‘मेड इन नेपाल’, ‘योङ इन्टरपेनर सिप’, ‘साउथ एसिया’ कार्यक्रम सम्पन्न गरिसकेका छौं । यो वर्ष ‘स्टार्ट अप’ भन्ने कार्यक्रम पनि सञ्चालन हुँदैछ । द्विपक्षीय र बहुपक्षीय सहकार्यअन्तर्गत भारतलगायतका सार्क राष्ट्रसँग मिलेर काम गरिरहेका छौं । अहिलेसम्म हामी ७ वटा विधामा छौं । गएको साधारणसभाबाट काठमाडौं च्याप्टर पनि बनायौं । हामीले पुनरुत्थानको काम गर्न खोजेका छौं । यसका लागि आर्थिक संकलन गर्ने काम भएको छ । हामीले त्यहाँ सामाजिक विकास र उद्यमशीलताका सम्बन्धमा ‘मोटिभेट’ गराउनेछौं । हामीले माइक्रोफाइनान्सको रूपमा काम गरेर लोन लिन सक्ने गरी एउटा गाउँमा सीप पनि दिएका छौं । कसरी काम गर्ने, कसरी बेच्ने र कसरी समूहमा काम गर्ने भन्ने सिकाएका छौं । यसका लागि क्रेताहरू तयार छन् । कार्यक्रमहरू भइरहेका हुन्छन् ।

कलेजहरूमा ‘मोटिभेट’ गरिसकेपछि ‘जब क्रियटर’ हुन तपाईंहरूको कामले कत्तिको सहयोग पुगेको छ ?

स्कुल र कलेजका लागि हामीले काम गर्छौं । कलेजपछि धेरैको चाहना विदेश जाने हुन्छ । बेरोजगारी उच्च हुँदा बाहिर जान खोज्नु स्वाभाविक पनि हो । तर हामीले यहीँ केही गर्नुपर्छ भन्ने सोच आउनु मुख्य कुरा हो । सवै जना त बाहिर पढ्न जाँदैनन् । त्यसैले उनीहरूको चासोलाई पनि सकारात्मक रूपमा लिन सकिन्छ ।

यहाँका ठूला घराना उद्यमशीलताको लिडरसिपमा पुगेका छन्, युवाले लिडरसिपमा पुगेपछि केही फरक पाइएको छ ?

अवश्य पनि पहिला र अहिले फरक छ । पहिला ‘अनुभव’ हेरिन्थो भने अहिले ‘नलेज’ हेरिन्छ । युवाहरू लिडरसिपमा आउँदा अवश्य पनि सोच र काम गराइमा फरक हुन्छ । यसमा हामीले मात्र गर्ने नभएर माथिबाट पनि ‘गाइडेड’ हुन्छ । युवाले नेतृत्व लिएका संस्था गुणात्मकरूपमा परिवर्तन र व्यवसाय सफल भएको हामीले पनि महसुस गरेका छौं ।

नेपालमा हालको उद्यमशीलताको गतिले भोलिका लागि कस्तो संकेत गरेकोे छ ?

हामीले अहिले आधार निर्माण गरिरहेका छौं । अझै धेरै नै काम गर्न बाँकी नै छ । सरकार र निजी क्षेत्रको सहकार्य अघि बढ्नु जरुरी छ । एक अर्कालाई सहयोगी भएर जानु जरुरी छ । नेपालमा व्यावसायिक संस्कार सुधार गर्नु जरुरी छ । आफू उद्यमशील बन्नु छ, तर कसले बनाउने र कसरी बन्ने भन्ने ‘ग्याप’ छ । भविष्यमा हामीले देखेको र काठमाडौं बाहिरका च्याप्टरसँग कुरा गर्दा पनि हामी सेवा र कृषिमा फोकस छौं । उत्पादनमूलक क्षेत्रमा नभएको होइन तर सेवा प्राथमिकता हो । अहिले गाउँमा गरिने कृषि पनि फरक भएको छ । एक जनाले धेरैलाई रोजगारी दिन सकेको अवस्था छ । अहिले काम गराइ पनि प्रविधिमैत्री भएको छ । बाहिर पढेका मानिस, जो फर्किएका छन् उनीहरूले आफूले काम गरेका छन् । पहिले गरेका काम र अहिले गरेका काममा फरक छ । पहिला पूर्वाधार विना थिए भने अहिले पूर्वाधार समेटेर काम भएको छ । भिजनसहित जान सकेमा नेपालमा पर्याप्त सम्भावना छन् ।

मञ्चको अध्यक्ष भएपछि सबैले आफ्नो ‘आइडेन्टीटी’ बनाएको देखिन्छ, तपाईंले आफ्नो ‘आइडेन्टीटी’ केमा बनाउने सोच बनाउनु भएको छ ?

अहिलेको सबैभन्दा ठूलो परिवर्तन भनेको संवैधानिक परिवर्तन हो । कोर फाउन्डेसनसँग मिलेर काम गर्ने, कोर कार्यक्रम मेड इन नेपाल, युवा उद्यमशीलता, स्टार्टअपलगायतका कार्यक्रमलाई नयाँ उचाइमा पुर्याउनेलगायतका रहेका छन् । यस्तै, नेटवर्क विस्तार र अन्तरराष्ट्रिय सहकार्य पनि हाम्रा प्राथमिकताका कार्यक्रम हुन् ।

सरकारले महिला उद्यमशीलता बढाउन पहल गरे पनि नतिजा आउन सकेको छैन, कमजोरी के होला ?

हामी कहाँ महिला उद्यमी नभएका होइनन् तर अति नै न्यून मात्रामा छन् । उद्यमशीलतामा महिला वा पुरुष भनेर हामीले लैंगिक विभेद गरेका छैनौं । समय, सुरक्षा र कल्चरले पनि महिलाहरू जति उद्यमशीलतामा आउनुपर्ने हो त्यसमा आउन सकेका छैनन् । महिलाहरू उद्यमशीलतामा आउँदा सबैभन्दा पहिला सुरक्षा र समयलाई हेर्छन् । पुरुषहरू केही जोखिम मोल्न तयार हुन्छन् भने समयको अवरोध पनि सामना गर्न सक्छन् । महिलाले गर्न नसक्ने होइन तर घर परिवार, बालबच्चादेखि सबैको जिम्मेवारी बढी हुन्छ । महिलाहरू उद्यमशील बन्ने क्रम केही बढेको छ । तर अपेक्षाकृत होइन । नीतिगत रूपबाटै महिलालाई माथि उठाउन सक्ने खालका कार्यक्रम आउनु जरुरी छ । पहिला र अहिलेको परिदृष्य परिवर्तन भएको छ । महिलामा उद्यमशील बन्नुपर्छ भन्ने सोच बढेको छ । आशा गरौं भोलिका दिनमा हाम्रो संस्थामा विधानमा लेखिएको २० प्रतिशतभन्दा बढी नै महिला उद्यमीको सहभागिता हुनेछ । हामीले यो बीचमा महिला उद्यमी समिट पनि सम्पन्न गरिसकेका छौं । कारोबार दैनिकबाट

प्रकाशित मिति : २०७३, ३१ बैशाख शुक्रबार ०५:५४

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुनगाभा फुडल्याण्डले मःम फेस्टिबल गर्ने – मःमः मात्र रु. ९९ मा

सुनगाभा फुडल्याण्डले मःम फेस्टिबल गर्ने – मःमः मात्र रु. ९९ मा

शुभ खबर, सुनगाभा फुडल्याण्डले बालुवाटारमा मःम पारखीहरुलाई मध्यनजर गर्दै आगामी माघ २६ गते शुक्रबार मःम फेस्टिबल आयोजना गर्ने भएको छ […]

२०७४, ९ माघ मंगलवार १८:१२
स्ट्राटेजिक प्लानीङ् तालिम सम्पन्न

स्ट्राटेजिक प्लानीङ् तालिम सम्पन्न

शुभ खबर, टिम नेपोको 󠇀आयोजनामा हिजो माघ ६ गते शनिवारको दिन बुटवलको दिप बोडिङ्ममा Training on Strategic Planning in Organizations सम्पन्न […]

२०७४, ७ माघ आईतवार १४:०३
नुवाकोटे धामीलाई ‘नुवाकोट घर’ को अभिनन्दन

नुवाकोटे धामीलाई ‘नुवाकोट घर’ को अभिनन्दन

शुभ खबर, नुवाकोटको प्रसिद्ध भैरवीस्थान मन्दिरका पुजारी हरिमानसिंह डंगोल (धामीदाइ) लाई सानेपाको ‘नुवाकोट घर’ ले आज अभिनन्दन गरेको छ । गोर्खालीको […]

२०७४, ६ माघ शनिबार २२:००
राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

शुभ खबर, निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । […]

२०७४, ५ माघ शुक्रबार १६:४१
उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

शुभ खबर, उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ […]

२०७४, ५ माघ शुक्रबार १६:३७
प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस्: प्रमुख निर्वाचन आयुक्त डा यादव

प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस्: प्रमुख निर्वाचन आयुक्त डा यादव

शुभ खबर, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय संसद्लाई पूर्णता दिनका लागि सहयोग […]

२०७४, ४ माघ बिहीबार १४:५२
भिडियो