नवदुर्गा गणनाच जोगाउन स्थायी आय स्रोत आवश्यक

शुभ खबर,  भक्तपुरको लिच्छवीकालीन नवदुर्गा देवगणको ङा लाकेगु (माछा मार्ने) नाच काभ्रेको पनौतीमा अहिले प्रदर्शन भइरहेको छ । तान्त्रिक विधिबाट मानव शरीरमा देवत्व प्रतिष्ठा गरी नाचिने नवदुर्गा देवगणको जात्रा माघे संक्रान्तिको भोलिपल्ट भक्तपुरको सूर्यमढीबाट शुरु भई करीब साढे दुई महिना भक्तपुर नगरका २१ स्थानमा र त्यसपछि भक्तपुर बाहिरका काठमाडौँ बागेश्वरी, बनेपा, पनौती, साँखु, साँगा, श्रीखण्डपुर, टोखा, नालालगायत स्थानमा प्रदर्शन गरिन्छ ।

मुख्यतया नवदुर्गा देवगणमा बाजागाजासहित १९ जनाको समूह हुन्छ जसमध्ये १३ जना विभिन्न देवीदेवता हुन्छन् । नगदुर्गा देवगणमा पित्तलको सानो मन्दिर हुन्छ जसलाई सिफोद्यः भनिन्छ, जुन महालक्ष्मीको प्रतीक हो । नवदुर्गा देवगणमा भैरव (कालभैरव) एक, महाकाली एक, बाराही एक, ब्रम्हायणी एक, महेश्वरी एक, कुमारी एक, वैष्णवी एक, इन्द्रायणी एक, गणेश एक, महादेव एक, श्वेतभैरव एक, सिम्ह दुम्ह (नन्दी भृंगी) दुई गरी १३ वटा मुकुण्डोसहित नाच प्रदर्शन गरिन्छ भने खिं बाजा, ताः बाजा, कायँःबाजा, महापात्र र नकीं गरी १९ जनाको समूह हुन्छ । त्यसमा अन्य सहयोगीसमेत थप हुन्छ ।

विषेशगरी यो नाचमा धान रोपाइँ नाच, बाराही नाच, माछा मार्ने जात्रा, महाकाली नाच, श्वेत भैरवको गा त्वःकेगु (खास्टो लुट्ने) नाच, खास्टो फिर्ता लिने नाच, माछा मार्ने शिक्षा दिने नाच, श्वेत भैरबको पेट दुख्ने नाचः (प्वाः स्याकिगु), समापन नाच समावेश गरिएको हुन्न्छ । यी नाचहरु प्रदर्शन गर्दा गीतको बोल र बाजाको तालसँगै पारिवारिक रहनसहन, अभिभावकको भूमिका, चेलीबेटीको दुःख, कृषि कर्म, वैवाहिक कर्म, दाम्पत्य जीवनमा हुनुपर्ने सदाचार, नारी शक्ति, महिलाको शृंगार, केटाकेटीको चकचके र जिद्धीपना, माया प्रेम र हर्षोल्लासका भाव प्रस्तुत गरिन्छ ।

करीब ६ महिना नियमित रुपमा सञ्चालन गरिने यो नाच तान्त्रिक विधि मात्र नभएर मानवीय जीवनमा गरिने सबै संस्कार रहेको भावप्रधान नाच हो जसमा बोलेरभन्दा पनि निश्चित भाव संकेतद्वारा संवाद प्रस्तुत गरिन्छ । विषेशतः यो नाचले मल्लकालीन समयको संयुक्त परिवारलाई इंगित गर्ने इतिहासविद् एवम् संस्कृतिविद् प्रा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

“नेवार समुदायमा झल्किने शक्तिशाली पारिवारिक अनुशरणको संकेत यो नाचमा प्रस्तुत गरिएको हुन्छ । घरमूली (नंकी)को दायित्व र महत्वसँगै उनको भूमिकालाई हरेक दृष्टिले उच्च स्थानमा राखेको हुन्छ । यसमा नकींले १८ जना गण सदस्यलाई नवदुर्गा देवगृहमा भित्र्याउनेदेखि लिएर निष्काशन गर्ने सम्मको भूमिका निभाइन्छ,” उहाँले भन्नुभयो – “यस अर्थमा नेवार समुदायमा र संस्कारमा नंकी अर्थात महिला प्रधान भन्ने सन्देश पनि यसबाट पाइन्छ ।”

यो जात्राले मल्लकालीन समयमा नेवार जनजीवनमा सबैसँग मिलेर बस्ने, संयुक्त परिवारमा बसी काम गर्ने भावना, ठूलालाई गरिने आदर सत्कार, सानालाई गर्ने माया, समाजिक मर्यादा, रीतिरिवाज, वेशभूषा, रहनसहन, खानपिन जस्ता पक्षलाई उतारेको पाइन्छ । यस्तो कठोर नियमलाई पालना गर्दै वनमाला समुदायले आजसम्म यसलाई जीवन्त राखेको छ । भक्तपुरमा प्रत्येक वर्ष नवदुर्गाको जन्मसँगै नेवार समुदायमा सुखद क्षण र उत्साह उमंग छाएको पाइन्छ । यसको अन्त्यसँगै भक्तपुरमा मात्र नभएर देशकै लागि विभिन्न कठिनाइको सामना गर्नुपर्छ । जस्तै घण्टाकर्ण चतुर्दशीमा उत्पत्ति हुने नवदुर्गा भगस्थीको दिन जलमा प्रवेश गरी समापन गरिन्छ । नेवार समुदायमा वर्षदिनका चाड घण्टाकर्णदेखि शुरु हुन्छ भने सिथी नखःमा समापन हुन्छ । भगस्थीमा देवगण जलमा समावेश भएपछि देशमा बाढीपहिरोको प्रकोप शुरु हुने, मानिसहरु आलस्य भई विभिन्न रोगबाट ग्रसित हुने देवगण नाइके ब्रिजेश वनमाला बताउनुहुन्छ ।

नवदुर्गाको गणनाचबारे प्रचलित किंवदन्तीअनुसार भक्तपुर नगरको पूर्वमा रहेको ब्रम्हायणी मन्दिरबाट नवदुर्गा गण प्रकट भई नाच्ने र सो क्षेत्रको जंगलको बाटो भई आवतजावत गर्ने जोसुकै मानिसको भोगबलि लिने कारण जनजीवन भयावह बन्यो । एक सिद्ध तान्त्रिक आचाजु सोही बाटो जाँदै गर्दा नवदुर्गाले भोगबलि लिन खोज्दा आचाजु चलाख भएर पहिले सबै देवगणको दर्शन गरी पूजा गर्न पाऊँ भनी बिन्तीभाव गर्दा देवगणले मानेपछि आचाजुले आफ्नो तन्त्रले सबै देवतालाई तानेर कलाली (नेवार समुदाय पूजा राख्ने विशेष खालको थाली) मा विराजमान गराई आफ्नै घरमा लगेछ । आचाजु भएसम्म नित्य पूजा भयो तर उनको मृत्युपछि पूजा गर्ने कोही नभएपछि देवगणहरु तान्त्रिक मन्त्रशक्तिबाट बाहिर आएर पुनः सोही स्थानमा मानिसको भोगबलि लिन थाले ।

एक दिन सोमराज नाम गरेका एकजना ब्राह्मणले आचाजुको घरको अवस्था देखेर उनले खोजीनिती गर्दा एउटा कोठामा कलाली भेटाएछ । उनले पनि तान्त्रिक मन्त्रद्वारा सबै देवगणलाई आह्वान गरी पुनः त्यही कलालीमा राखेर घर लगेछ । कसैले नदेख्ने गोप्य ठाउँमा राखी नियमित रुपमा पूजापाठ गर्न थाले । एकदिन ब्राम्हण स्नान गर्न गएको बेलामा उनको श्रीमतीले देवगण भएको कोठामा ढोका खोली हेरे र सोही बेला देवगण लोप भएर त्यहाँबाट पूर्वदिशातर्फ लागे । त्यहाँबाट इनाचोस्थित स्वंग ल्हमा पुग्दा देवगणहरुले सुँगुरको भोगबलि लिइरहेको ब्राह्मणले थाहा पाए । त्यो देखेर ब्राह्मणले देवगणलाई पुनः फर्कन आग्रह गरे । मन्त्रले काम नगरेपछि नवदुर्गालाई देशवासीको अगाडि ल्याउनुपर्छ भनी उनले सबै गण समावेश भएको गणखा (वनमाला समुदाय)लाई नृत्य सिकाई मुकुण्डो खर्पनमा राखी पठाएको किंवदन्ती रहेको छ ।

किंवदन्तीअनुसार देवगण सिद्ध हुनलाई मोहनी (कालो टीका) धारण गर्नुपर्छ । यसकारण नवदुर्गाको मू बाँहा (मुख्य बलि) का रुपमा सुँगुरलाई लिइएको हो । पछिल्लो समय विभिन्न कारणले गर्दा वर्षेनी जात्रा देखाउनुपर्ने ठाउँमा जान नसकेको वनमाला बताउँछन् । उनीहरु अहिले भक्तपुर नगरका २१ ठाउँसहित काठमाडौँको जयबागेश्वरी, बनेपा, धुलिखेल, साँखु लगायतका ठाउँमा प्रत्येक वर्ष जाने गरेपनि थिमिलगायत केही स्थानमा बन्द भएको नाइके ब्रिजेश बताउनुहुन्छ ।

नवदुर्गा नाच विजयादशमीको दिन शुरु भई गठेमंगल अघिको अष्टमीको दिन सम्पन्न हुन्छ । यो नाच चलाउन, उत्पत्तिदेखि अन्तसम्म अर्थात् वर्षभरिको पर्व पूजा चलाउन १९ जना देवगणको आवश्यकता पर्नाका साथै ठूलो राँगो एक, खः म्ये एक गरी दुई राँगो, थुमो भेँडा पाँच, रातो भाले ३५, बोका दुई, मू बाँहा (सुँगुर) १४ वटा आवश्यकता पर्दछ र भोजसमेत गर्नुपर्छ जसका लागि लाखौँ रुपैयाँ खर्च हुने गर्छ । नवदुर्गाको प्रसाद ग्रहण गर्न २०४६ सालदेखि राष्ट्रप्रमुख कोजाग्रत पूर्णिमाको दिन भक्तपुर–३ गछेंस्थित नवदुर्गा भवानीको मन्दिरमा आउने परम्परा रहेको छ । सो अवसरमा राष्ट्र प्रमुखसमक्ष समेत आर्थिक समस्यालाई लिएर बिन्ती पत्रदेखि ज्ञापन पत्रसमेत पेश गरे पनि हालसम्म समस्या समाधान गर्न कुनै चासो नदिएको उहाँले जानकारी दिनुभयो ।

यो नाचको संरक्षण र संवद्र्धनका लागि गुठी संस्थान, भक्तपुर नगरपालिका र संस्कृति मन्त्रालयले सहयोग गर्नुपर्ने वनमाला बताउनुहुन्छ । “भोको पेट र नाङ्गो खुट्टाले मात्र नियमित ६ महिनासम्म नाच प्रदर्शन गर्ने वनमाला समुदायको स्वास्थ्य स्थिति एकदमै नाजुक अवस्थामा रहेको छ, खाना खान नमिल्ने खाली पेटमा जाँड र रक्सीको भरमा यो नाच सञ्चालन भइरहको छ,” नाइके ब्रिजेशले भन्नुभयो – “आयस्रोत नभएका कारण मागेर जात्रा सञ्चालन गर्न बाध्य भएका छौँ ।” यो नाचको मुख्य आयस्रोत नै भक्तजनले चढाउने दानदक्षिणा र भेटी हो । यो नाचलाई कालान्तरसम्म जीवन्त राख्न र नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जान स्थायी आय स्रोतको बन्दोबस्त गर्न जरुरी छ ।

प्रकाशित मिति : २०७४, २१ चैत्र बुधबार २०:१४

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो