अशिक्षित महिलालाई जति गाह्रो हुन्छ शिक्षित महिलालाई त्यति गाह्रो हुँदैन : याङकिला शेर्पा (बरिष्ठ पर्यटन व्यवसायी)

ओलाङचुकगोला देखि सिहंदरबार सम्मको यो लामो यात्रा र करिब १० ÷ ११ महिनाको मन्त्रालयको जिम्मेवारी मा नेपालको पर्यटन क्षेत्रमा याङकिला शेर्पाले बिभिन्न क्षेत्रमा गर्नुभएको कार्यहरुले गर्दा पर्यटन क्षेत्रमा निकै चर्चामा हुनुहुन्छ । दोस्रो सिजनको : पर्यटन क्षेत्रबाट आईकन अफ नेपाल

पर्यटन ब्यबसायीहरुले याङकिला शेर्पालाई पर्यटन क्षेत्रको पर्यायको रुपमा लिन्छ यसलाई तपाईले कसरी लिनु भएको छ ?
मेरो लागि यो ठुलो कुरा हो मैले जब ट्रेकिङ सुरु गर्दा खेरि महिलाहरु धेरै ब्यबसायी तथा उद्यम क्षेत्रमा सक्रिय थिएनन् । मैले १९८० देखि यो काम सुरु गरेर अहिले सम्म यो कार्र्य गरिराखेको छु । बिचमा धेरै उतार चढाव आइ नै राखे । ब्यबसाय सुचारु रुपमा गर्न त्यति सजिलो त छैन तर पनि म अहिले सम्म निरन्तर लागि रहेको छु । कसरी पर्यटन मार्फत् देशको अर्थतन्त्र सुधार्न सकिन्छ, धेरै भन्दा धेरै रोजगार दिन सकिन्छ, साथै आफैलाई पनि यो पर्यटन उद्योग उचित ब्यबसाय लागेको हुनाले म यो क्षेत्रमा निरन्तर क्रियाशिल भएको हो । यो क्षेत्रमा आफ्नो रुचि भएकोले पनि साथै अरु पर्यटन ब्यबसायीहरुले मान्यता दिएकोमा पनि म ज्यादै खुशी छु ।

ओलान्चुक गोला देखि सिंहदरबार सम्म आईपुग्दा तपाईलाई सम्झन लायक कुरा र त्यस बिचमा तपाईलाई पर्यटन क्षेत्रमा लाग्नको लागि के कुराले प्रेरणा ग¥यो ?
म ओलान्चुक गोलामा जन्मिएर काठमाडौँको सिंह दरबारभित्र सम्म छिर्ने अबसर पाएँ । धेरैले मलाई यो यात्रा हजार बर्षको यात्रा जस्तो छ यस्मा पुस्तक नै लेख्नु भनेर समेत भनेका छन् । म एउटा विकट ठाउँमा जन्मिए जुन ठाउँमा विकटता अझै नै छ । मैले छोटो समय देशको सेवा गर्ने मौका पाएँ । मैले त्यहाँको चाहिँ जुन कठिनाई छ दुर्गम पहाडी जिल्लाको बिशेष गरि महिलाहरुको शिक्षा सम्बन्धि जुन दुख मैले भोगेँ अन्य महिलाहरुले भोग्नु प¥यो जुन कुराको लागि मैले केही हद सम्म कोसीस गरेको थिए तर नेपालमा इच्छा भएर मात्र काम गर्न त्यति सजिले छैन । म त्यहाँ बाट काठमाडौँ आएर म भाग्यमानी नै भए किनकी मैले पढ्ने मौका पाएँ । सेन्ट मेरिज जस्तो स्ट्याण्डर्ड स्कुलमा मैले सिने क्याब्रिज गर्ने मौका पाएँ । त्यति गर्दा गर्दै म कलेज पढ्दा मेरो श्रीमान स्वर्गिय तेन्जी शेर्पा उहाँ शिक्ष प्रेमी हुुनुहुन्थ्यो । उहाँ घरमा दिदी बहिनीहरु धेरै पढेलेखेका थिएनन् र म पढेको देखेर उहाँले मलाई झन् हौसला दिनु भयो । युनिभर्सिटी लेभल सम्म पढ्नको लागि उहाँल नै प्रेरणा दिनु भयो । साथै सेन्ट मेरिज पढ्नको लागि मेरो आमा र हजुरबुबाले साथ दिनु भयो उहाँहरुको एउटा दुरदर्शिता कि छोरी मान्छेले पढेर केही गर्न सक्छ भन्ने सोचको कारणले गर्दा पनि हो । र म आफै नि I worked hard and Inever turn back भनेर अघि बढे । म सामाजिक क्षेत्रमा पनि अघि बढेँ जुन समयमा मैले यो Snow Leopard Trekking खोले मेरो श्रीमानलाई अध्यक्ष बनाएर म आफु चाहिँ म्यानेजिङ डिरेक्टरको रुपमा काम गरे त्यतिखेर ट्रेकिङ भनेको के हो भन्ने कुरा मैले सिक्ने कोशिस गरेँ । यस ब्यबसाय राम्रो हुँदै आयो पछि महिला उद्यमीको हैसियतले मैले महिला उद्यमी संघमा काम गरेर महिला उद्यमी महासंघ भन्ने गठन ग¥यौँ । २००३ मा यसलाई महासंघ स्थापना ग¥यौँ । अर्को कुरा यो ब्यबसायमा गर्ने क्रममा तत्काल Trekking Agency Association Of Nepal (TAAN) मा पनि अध्यक्ष भएर काम गर्ने मौका पाएँ । यो संस्थाहरुबाट मैले धेरै कुरा सिक्ने मौका पनि पाएँ । ट्रेकिङ ब्यबसायी साथै पर्यटन ब्यबसायीहरुको समस्याहरु सरकारको पोलेसीसंग किन मेल खाँदैन जस्को कारणले हामी ब्यबसाय सुचारु रुपले चलाउन पाउँदैन भन्ने जस्ता कुराको अनुभवले गर्दा होला म राष्ट्रिय सभामा सांसद हुने मौका पाए । र त्यहाँ मैले महिला उद्यमीको समस्याहरुले ठाउँ पाउनु पर्छ भनेर सासंद पनि बोलेको थिए र अर्को मेरो एजेण्डा भनेको पर्यटनको माध्यमबाट एउटा विकट ओलाङ्चुङ् गोला जस्तो जिल्लालाई हामीले कसरी प्रोमोट गर्न सकिन्छ । यसको साथै पर्यटन किन सन्तुलित भएको छैन किन यसलाई सबैतिर समान गरि लैजान सक्दैन भन्ने बिषयमा पनि आफ्नो लागेँ । यस्ता कुराहरुमा सक्रिय रुपमा लाग्दा लाग्दै मैले त्यतिखेर पर्यटन मन्त्री हुने मौका पनि पाएँ । छोटो समयको लागि थियो तर मैले केही गरे जस्तो मलाई लाग्छ । त्यतिखेर मैले गरेको पहिलो काम भनेको ताप्लेजुङमा एयरपोर्टको लागि स्थापना गर्न रहेको समस्या के छ बुझ्नको लागि सम्बन्धित पक्षका सबैलाई त्यहाँ लगी समस्या पत्तत लगाएर काम सुरु गर्न लगाए । अहिले त्यस स्थानमा एयरपोर्ट बन्न लागेको थाहा पाए पछि धेरै खुशी लागेको छ ।

एउटा संस्कृति तथा पर्यटन उडड्यन मन्त्रालयको जिम्मेवारी बहन गर्नुभयो र आफ्नो कार्यकाल पनि सफल रुपमा सम्पन्न गर्नुभयो । त्यसपछि पर्यटन क्षेत्रमा तपाईले सोचेको जस्तो बिकास भएको जस्तो पाउनुु भएको छ ?
म एउटा कुरा गर्न चाहन्छु मैले पर्यटन ब्यबसायीहरु तथा पर्यटन संस्थाहरुलाई नोक्सान पुराउने काम चाहीँ मैले गरिन जस्तो मलाई लाग्छ म त्यती चाहिँ ढुक्कले भन्न सक्छु । पर्यटन क्षेत्रको बिकासको लागि पुर्वाधार भने धेरै ठाउँमा बनेको छ । बिभिन्न जिल्लाका सदरमुकाममा सडक पुग्नु ठूलो कुरा हो हाम्रा साथीहरु ट्रेकिङ रुट बिग्रियो भन्ने कुरा गर्छन् । तर हामीले नयाँ बाटोहरु खुलाउन सक्छन् । अब पर्यटनमा के प्रगति भयो भन्न हुन्छ भने, नयाँ नयाँ ठाउँहरुमा पर्यटन हरुको रुटहरु खोलिएको छ । हिमालको पिकहरु खोलेका छन् । अहिले म पर्वतारोहण संघमा प्रमुख सल्लाहकारको रुपमा कार्यरत छु । पर्वतारोहण संघले चाहीँ राम्रो काम गरिरहेको मैले पाइरहेको छु । Peak Identification भन्ने समुह खडा गरेर सरकार संग नयाँ पिक जुन सेल गर्न सजिलो छ त्यस्तो पिक खोल्ने कामहरु भैराखेको छ । एउटा राम्रो काम के भएको छ भने अन्तरराष्ट्रिय फ्लाइटहरुको संख्या बढेको छ जस्को कारण पर्यटनको संख्यामा बृद्धि आएको छ जुन कुराले पर्यटन ब्यबसायीहरुलाई खशी तुलाएको छ । मैले एयरपोर्ट सुधार्ने कोशिस गरेको थिए तर त्यतिखेर भन्दा अहिले धेरै राम्रो भएको हुनाले जो जो यसमा सम्बन्धित हुनुहुन्छ उहाँहरुलाई धन्यबाट भन्नै पर्छ ।

तपाईको कार्यकालमा सुरु भएको कार्यहरु अहिले पनि निरन्तर रुपमा चलिरहेको तपाइले पाउनु भएको छ ?
एउटा त त्यो ताप्लेजुङ एयरपोर्ट को कुरा भयो र नेपाल एयरलान्सको नयाँ एयरकाफ्र्ट ल्याउने उदेश्यले मैले जुन गृहकार्य गरेको थिए । त्यो कामलाई चाहिँ अहिले वास्तबमा कार्यान्वयन भएको देख्छु । चाइनिज एयरक्राफ्ट ल्याउने कुरा मेरो नै थियो । मैले यो कुरालाई गोप्य रुपमा काम गरेको थिए । सायद यो कुरा मन्त्रालयको कतिपय मानिसहरुलाई पनि थाहा थिएन । किनकी प्लेन नयाँ ल्याउने भन्ने बित्तिकै यहाँ ठूलै पैसाको चलखेल हुन्छ । त्यखिेर म एकदम नै भाग्यमानी म संग जो काम गर्नु भयो कृष्ण अर्याल ज्यु, गोबिन्द प्रसाद पाण्डे ज्यु, उहाँहरु धेरै स्वच्छ मनका हुनुहुन्थ्यो । उहाँहरुले कुनै पनि कुरामा हस्तक्षेप गरेर नाजायज फाइदा लिने काम गर्नू भएन । त्यसकारणले पनि म एकदम भाग्यमानी भए । मैले नेपाल एयरलायन्सको एयरक्राफ्ट ल्याउन मैले गरेको गृहकार्य पनि काम आयो होला जस्तो मलाई लाग्यो ।

तपाई शिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो । यो क्षेत्रबाट पर्यटन क्षेत्रमा आउन तपाईलाई कस्ले प्रेरित ग¥यो ?
नेपालमा क्याम्पस लेभलमा पढीसकेपछि जाने नै शिक्षकको रुपमा हो । मैले शिक्षिकाको रुपमा सजिलै रुपमा मैले काम गरेँ र त्यतिबेला नयाँ शिक्षा योजना भर्खर लागु हुँदै थियो । बिश्व निकेतनमा पढाउथेँ त्यतिबेलाको समयमा छात्रहरु बढि थिइ र छात्राहरु कमै थिए । म पनि भर्खरको उमेरको थिए छात्राहरु चप्पल लगाएर पढ्न आएको देख्दा मलाई अचम्म लाग्यो किनकी म पढेको स्कुल जस्तो हुन्दैन रहेछ । तर त्यसलाई परिवर्तन गर्न पनि सक्दिन थिए । तर मलाई खुशी लाग्यो कि मैले पब्लिक संग काम गर्ने मौका पाएँ । सामान्य स्तरको मानिसहरु संग काम गर्दा सत्यनारायण श्रेष्ठ ज्यु संग धेरै कुरा सिक्ने मौका पनि पाएँ । एउटा शिक्षकको जिवन भनेको एकदमै संघर्षपुर्ण जिवन हो । मेरो साथी केन्द्र मल्ल ज्युले मलाई तिमी यस्तो अंग्रेजी बोल्ने मान्छे किन टिचिङ गरेर बस्छौ तिमी त पर्यटन क्षेत्र तिर लाग भनेर सल्लाह दिनु भयो । त्यसपछि मैले आवेदन दिए टुर अफिसरको लागि मैले जाँच दिए र नाम निकाल्न सफल भए । पर्यटन क्षेत्र होटल जस्तो क्षेत्रमा काम गर्ने महिलाहरुलाई मानिस तथा श्रीमानको परिवारले अर्कै दृष्टिकोणले हेर्ने समय थियो । त्यसकारण ट्रेकिङ एजेन्सीलाई कसरी हेर्ला भन्ने डर मनमा लागेको थियो । मेरो श्रीमानले मलाई हौसला दिनु भयो । तिम्रो अंग्रेजी राम्रो छ तिमीले गर्न सक्छौ भन्नुभयो र मैले त्यो काम सुरु गरे । यो क्षेत्रमा बसेर काम गर्दा मलाई के लाग्यो भने शिक्षण गरेर भन्दा यहाँ देश बिदेशको मान्छेहरु संग भेटघाट गर्न पाउने थियो । मेरो अंग्रेजी राम्रो भएकोले कारणले गर्दा पनि मलाई सहज भयो । तर त्यतिखेर महिलाहरु एकदमै कम थिए । एकजना शारदा भन्ने हुनुहुन्थ्यो टिकेटिङ गर्ने । तर अरु महिला पनि थिए उनिहरु भने इण्डिया बाट झिकाएका हामी भन्दा माथि बसेर काम गर्ने थिए । त्यतिखेर को जुन समय थियो त्यो मेरो लागि धेरै चुनौती पुर्ण थियो तापनि मैले धेरै कुरा सिक्ने मौका पाएँ ।

बिषय मोडौ

नेपाल सरकारले सन् २०११ मा नेपाल भ्रमण बर्ष त्यस्को लगत्तै २०१२ मा लुम्बिनी भ्रमण बर्ष मनाउँदै गर्दा नेपाल सरकारले ठुलो संख्यामा पर्यटक भित्रयाउने एउटा ठूलो लक्ष्य राखेको थियो त्यसबिचमा त्यो लक्ष्य पुरा गर्नको लागि प्राइभेट सेक्टर तपाई जस्तो जिम्मेवारी सम्हालेको मान्छेको भुमिका कस्तो भयो र त्यो लक्ष्य पुरा भयो कि भएन ?
मलाई सही फिगरहरु थाहा छैन कति टार्गेट राख्यो र कति सम्म पुरा ग¥यो त्यो कुरा मलाई थाहा भएन किनकी त्य कुरामा म समाबेश नै भइन । त्यसमा समाबेश नभईसकेपछि म त्यसमा गएर खोजी निती गर्ने काम पनि भएन । जति पैसा खर्च गरेर यो अभियान सुरु ग¥यो त्यति फाइदा भएको जस्ता भने मलाई लागेन हुनत त्यति समयमा कति राजस्व संकलन गरियो त्यो कुरा मलाई थाहा नभएको हुन सक्छ । मलाई त्यसमा समाबेश नगराएपछि मेरो भन्नु केही छैन ।

तपाई एउटा Snow Leopard Trekking मा आफ्नो ब्यबसाय गरिराख्नु भएको छ । यसमा हाल पर्यटन ब्यबसायीका लागि देखिएका चुनौतीहरु के के छन् ?
अहिले त चुनौती नै चुनौतीहरु छन् अहिले नाकाबन्दीले कति चुनौती भएको छ भनेर नै साभ्य छैन । पाइला पिच्छे नै के भइराखेको छ भनेर अहिले बजार बुझेर हिड्नु पर्ने अबस्था छ । यस्को साथै हामीले पर्यटकलाई नेगेटिभ म्यासेज नजाओस् कि नेपालमा पेट्रोल पाउँदैन, यहाँ बजार भाउ एकदम आकाशिएको छ भन्ने कुरामा पनि ध्यान दिन जरुरी छ । हामीले प्राइस कसरी मेनटेन गरि चलाउने त सिजनमा भन्ने कुरा छ । भुकम्प पछि नेपालमा आउने पर्यटक घटेको छ । नेपालमा सबै नष्ट भएको भन्ने सन्देश पनि गएको छ । त्यो समयमा नेपालमा मिडियाले जुन किसीमले पूचार गरेको छ त्यसले पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको छ । त्यसपछि को यो नाकाबन्टी हाम्रो लागि पिडादायी भएको छ । हामीले अहिले ट्रेकिङको दुरीलाई कसरी छोटो बनाउन सकीन्छ भन्ने कुराको खोजी गरीरहेका छौ । केही दिन अगाडी मात्र म नुवाकोट गएको थिए तिन घण्टाको बाटो रहेछ । पोखरा छ घण्टाको बाटो भन्दा त्यस स्थान नजिक पनि रहेछ । यसरी नयाँ ठाउँमा जाँदा सामुदायिक बिकास पनि हुन्छ जुन पनि पर्यटन नै हो । म एउटा अन्तरराष्ट्रिय कार्यक्रममा भाग लिन भएको थिए त्यहाँ Business Forum  भन्ने मा Tourism Exchange भन्ने थियो ।  South Asia र Central Asia को महिलाहरुको Mountain Forum भन्ने थियो त्यहाँ मैले बोल्ने मौका पनि पाएँ र सिक्ने मौका पनि पाएँ र हामीले के पायाँै भने नेपाललाई भुकम्पले धेरै असर पारेको छ र मानिसहरु यहाँ आएर सहयोग गर्न चाहन्छनु यदि उनिहरु आउन चाहन्छन् त किन उनीहरुलाई बिद्यार्थी, कामदारहरुलाई सहयोग गर्न नदिने भन्ने धारणा पनि आएको थियो ।

यति लामो पर्यटन ब्यबसायमा तपाईको अनुभवले अबको समयमा पर्यटन ब्यबसायीले कस्तो खालको रणनिती लिएर जान सक्यो भने नेपालमा पर्यटन क्षेत्र निरन्तर रुपमा चलिरहन सक्छ जस्तो लाग्छ ?
सर्बप्रथम त तपाईका शक्ति नै हुनुपर्छ अर्को कुरा अहिलेको परिस्थितीमा हामीले केही सोच्न समेत सकेका छैन पेट्रोलको अभावले गर्दाखेरि । त्यसकारण सरकारले यदि पर्यटन क्षेत्रमा बिकास गर्न चाहने हो भने उनीहरु संग ब्याक अप प्लान हुन जरुरी छ । उनीहरु संग इनर्जीको पनि साथै फ्युलका पनि ब्याकअप प्लान हुन जरुरी छ । उनीहरुले बजार भाउको अनुगमन गर्न पनि जरुरी छ किनकी उति ब्ल्याक मार्केट बढेको छ हरेक कुराको भाउ १० गुणा बढि राखेको छ । पर्यटकलाई हामीले दाम बढाउना साथ नेपालको मार्केट भारत तिर सर्न सक्छ । यस्को साथै उनीहरु अरु देश तिर जान सक्छन् । हामीलाई यति गाह्रो पर्ने दिनहरु देख्छु म । मलाई थाहा छैन यो नाकाबन्दीको समस्स्या कति सम्म जाने हो र देशमा संबिधान आयो तर अहिले परिस्थितीमा हाम्रो जिवन नै रोकिएको जस्तो भइरहेको छ यो समयमा ब्यबसाय भन्द पनि आफु बिहान बेलुका के खाने धौ धौ छ ।
तपाई पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा हुनुहुन्छ र साथै तपाई अन्य यति धेरै संस्थामा लागिराख्नु भएको छ र तपाई एउटा महिलाको प्रतिनिधीत्व पनि गरिराख्नु भएको छ नेपालमा महिलाको लागि अबसर छैन भनेको छ के यो साँचो हो या नेपाली महिलाले एउटा नेतृत्व दायी भुमिकामा आफ्नो नेतृत्व प्रस्तुत गर्न नचाहेका हुन् ?
नचाहेका हुन् भने महिला राष्ट्रको सभामुख भैसकेका छन् । राष्ट्रपति भैसकेका छन् । मन्त्री भने एउटा मात्र देख्छु, जहाँ चाहीँ निर्णयक भुमिका मन्त्रीहरु कै हुन्छ । संसदको केही दिन अगाडी बसेको बैठकमा पनि महिलाको अंशको पक्षमा अझ पनि बिभेद रहेको छ भन्छ । महिलाहरुले अबसर त पाएको छ भन्नुपर्छ किनकी राष्ट्रपछि जस्तो ठूलो पदमा महिला पुग्नु भनेको ठूलो फड्को पनि मार्नु हो र जनजाति मुलको महिला सभामुख भईराखेको छ यो पनि ठूलै उपलब्धी हो महिलाको पक्षमा, तरपनि आर्थिक पक्षमा काम गर्ने महिलाहरुको लागि भने अझै पनि चुनौती नै छ । पुरुषले जस्तो बजारी गर्ने क्षमता त महिलामा हुन्न ।

यसमा सरकारको महत्वपुर्ण भुमिका हुन्छ या महिला स्वयम् को भुमिका हुन्छ आफुलाई अगाडी ल्याउनको लागि ?
भुमिका त पुरै सरकार को नै हो अहिलेको अबस्थालाई तर मेरो बिचारमा नेपाली महिलाहरु त Good Women जस्तो लाग्छ । म एउटा जनता भन्ने संस्थामा छु त्यहाँ मेरो छोरीको उमेरको केटीहरुले काम गरेको देख्दा मलाई अचम्म लाग्छ । हाम्रो साथी प्रमिला आचार्य रिजाल अध्यक्ष, उनको नेतृत्वमा रहेको उक्त संस्थामा महिलाहरु काम गर्ने क्षमता IT को ज्ञान देख्दा आउने भबिष्यमा महिलाहरु चाहिँ अगाडी हुन्छ जस्तो लाग्छ मलाई ।

तपाईले जिवनमा WWF को अब्राहम कन्र्जभेसन अवार्ड (Abraham Conservation Award) र प्रिर्यादर्शनी अर्वाड (“Priyadarshani Award”) जस्ता बिभिन्न एवार्डहरुबाट सम्मानित हुनु भयो महिलाहरुको क्षेत्रमा राम्रो भएर नै यो सम्मान पाउनु भयो त्यो बिचमा नेपाली महिलाहरुलाई चाहिँ के कुराले प्रेरित गर्न चाहनुहुन्छ ?
सबभन्दा पहिला त शिक्षा, किनकी अशिक्षित महिलालाई जति गाह्रो हुन्छ शिक्षित महिलालाई त्यति गाह्रो हुँदैन। धेरै महिलाहरु पढाईमा फेल भएपछि पढाई नै छोड्ने चलन छ र त्यसपछि बिवाह गर्ने गर्छन् । त्यसपछि उनिहरुको जिवन नै समाप्त हुन्छ यो शिक्षको कमिले गर्दा भयो । शिक्षामा छोरा मान्छेलाई भन्दा छोरी मान्छेलाई कम ग्राहायता दिइन्छ । त्यसकारण सबैभन्दा महत्वपुर्ण महिलाको शिक्षामा हो त्यसपछि सशक्त हुनको निम्ति महिला आर्थिक रुपमा पनि सशक्त हुनु पर्दछ । आफ्नो खुट्टामा उभिएपछि उस्ले सबै कुराको सामना गर्न सक्दछ । मैले South Asian Women Development Forum भन्ने संस्थामा साथीहरु संग मिलेर सार्क राष्ट्रको महिलासंग हामीले सिक्यौ कि हामी संग सबै समान समस्या रहेछ । भर्खरै मैले युटामा भाग लिएर आए त्यहाँ गएर पर्वतारोही महिलाको समस्या हाम्रो भन्दा धेरै भिन्न रहेको पाए । मेरो बिचारमा हामीले जुन क्षेत्रमा लागेर काम गरे पनि सशक्त भएर काम गर्दा देशलाई पनि राम्रो गर्न सकिन्छ र आफुलाई पनि राम्रो गर्न सकिन्छ ।

अन्त्यमा TAAN को अध्यक्ष भएर कार्यसम्पादन गर्दा र त्यसपछि को अबस्थाहरुबारे हामीलाई बताईदिनुस् ?
टानमा म त्यतिखेर हुँदाको कुरा सुनाउदा म मात्र महिला र १७ जना पुरुष थिए । शेर्पाहरुले पनि मलाई अर्कै ब्यबहार गर्दथे । किनकी धेरैजसो शेर्पाहरुको घरमा छोरीहरुलाई अंगे्रजी पढेका हुदैनथ्यो । उनीहरुलाई म आत्मबिश्वास भएको मनपराउँदैथे । म त्यस्तो दुर्गम ठाउँमा जन्मिएर पनि भाग्यले मैले राम्रो स्कुलमा पढ्न पाएँ भाग्यले मैले कलेजमा पढ्ने मौका पाएँ भाग्यले मेरो परिवार र मेरो श्रीमानले मलाई प्रोत्साहन गर्नुभयो र म आफुले पनि आफ्नो लक्ष्यप्रति फोकस भएर लागेको थिए । त्यहीकारणले गर्दा पनि NMA अहिलेको कार्यक्रमहरुमा पनि मलाई बोलाईरहेका हुन्छन् । तर त्यसबेला संस्थाहरु राजनितीकरण भईसकेको थिएन । तर अहिले एमालेका संस्था, कांग्रेसको संस्था, माओवादीको संस्था हुन्छ र यो भातृगत संस्था भएको छ । यहाँ त पार्टीको रुपमा जानु पर्छ । मैले भने हामी सबैको आफ्नो आफ्नो पार्टी पट्टि रुचि हुन्छ तर यस क्षेत्रलाई भने राजनितीक नबनाउँ भने त्यसकारणले होला मैले अहिले पनि NMA मा हेरिरहेको छु । तर अरु क्षेत्रमा यति राजनितीकरण हुदाँ महिला उद्यमी संघ मा भने राजनितीकरण भएको छैन मलाई एकदमै खुशी लागेको छ । महिला उद्यमी महासंघमा मेरो आफ्नै साथीहरु कार्यरत छन् त्यहाँ सबै महिला उद्यमी छन् त्यसकारणले गर्दा होला यो यहाँ राजनितीक को छाप परेको छैन ।

 

प्रकाशित मिति : २०७३, ८ मंसिर बुधबार ०७:५७

तपाइको प्रतिकृया